हाम्रो परियोजना : नेपाली भिलेज यूके
पृष्ठभूमि
नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण विश्वकै सुन्दर देश हो । भगवान् गौतम बुद्ध जन्मेको देश तथा हिमालयको भूमि पनि हो, जहाँ विश्वकै सर्वोच्च शिखर सगरमाथालगायतका विभिन्न हिमश्रृङ्खला अवस्थित छन् । नेपाली कोखमा यती तथा वीर गोर्खालीहरूको गाथा बोकेको अनुभूति गर्न सकिन्छ । रोमाञ्चकारी दृश्यहरू र प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर देश नेपालका नागरिक विश्वभर गौरवका साथ वीर गोर्खालीका नामले चिनिन्छन् ।
संयुक्त अधिराज्य (यूके) लगायतका युरोपेली देशमा धेरै नेपाली समुदायको बसोबास छ । कामको सिलसिलामा ब्रिटिस सेनामा भर्ती भएका तथा विद्यार्थीको रूपमा बेलायत आएका नेपालीहरूले कालान्तरमा बेलायत र युरोपको समृद्धिमा योगदान दिन यहीँ बस्ने निर्णय गरेका हुन् । यहाँका नेपालीहरूले धेरै पहिलेदेखि नै बिदा मनाउने तथा मनोरञ्जनात्मक गतिविधि गर्नका निम्ति नेपाल झल्किने आफ्नै थलो होस् भन्ने चाहना राख्दै आएका थिए । यसै कारण ‘नेपाली भिलेज’ निर्माणको अवधारणा जन्मिएको हो । यो त्यस्तो भिलेज हुनेछ, जहाँ जो कोहीले आफ्नो व्यस्त दैनिकीबाट छोटो विश्राम लिएर छुट्टी मनाउन वा ग्रामीण क्षेत्रको अनुभवसहित रमाइलो गर्न सक्नेछन् ।
नेपाली भिलेज यूके समुदायमा आधारित व्यावसायिक र दीर्घकालीन परियोजना हो । यो बेलायतमा मात्र नभई युरोपकै यस प्रकारको पहिलो परियोजना हो । नितान्त समुदायसँग आत्मा जोडिएको परियोजना भएकाले स्थानीय समुदायको सहमति र स्थानीय निकायको निर्देशनमा नेपाली भिलेजले भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, सगरमाथा, ठूलो चौतारी, ऐतिहासिक ढुंगेधाराहरू, धरहरा, पशुपतिनाथ, बौद्धनाथ, १०८ धारालगायतका नेपालका प्रख्यात स्मारकका साथै ध्यान केन्द्र, होटल, विवाह तथा अन्य कार्यक्रम गर्नका लागि सुविधासम्पन्न हल, पूजा, मेला तथा विभिन्न चाडपर्व आयोजनाका लागि समेत सुविधा प्रदान गर्नेछ ।
यस परियोजनाले सात समुद्रपारि पनि नेपाल र नेपालीको मौलिक पहिचान तथा कला संस्कृति झल्काउन मद्दत पुगोस् भन्ने हाम्रो ध्येय हो । ग्रामीण नेपालको झझल्को आउने आभास हुने गरी बिदा मनाउने स्थानको निर्माण गरिनेछ ।
उद्देश्य
यस परियोजनाको मुख्य उद्देश्य मिड वेल्स, बेलायतमा ‘नेपाली भिलेज’ निर्माण गर्नु हो । नेपाली भिलेज नेपाललाई बेलायतमा चिनाउने मनोरञ्जनात्मक तथा शैक्षिक केन्द्रका रूपमा स्थापित हुनेछ । यो शान्त वातावरणमा स्थानीय तथा नेपाली संस्कृतिबारे जान्न र ग्रामीण नेपाली गाउँको स्वाद अनुभव गर्न पाउने र फुर्सदको समय बिताउन सक्ने ठाउँ पनि हुनेछ ।
लक्ष्य
बेलायतको मिड वेल्समा जग्गा खरिद गरी नेपाल झल्किने संरचना निर्माण गर्नुका साथै नेपाली कला, संस्कृतिको जगेर्ना तथा संवर्धनसँगै वेल्स र नेपालको पर्यटन प्रवर्धन गर्नु नै यसको मुख्य लक्ष्य हो । बेलायतमा रहेका नेपाली तथा अन्य समुदायले बिदाको समयमा समेत नेपाली भिलेजमा भेला भई समुदायस्तरमा आपसी छलफल तथा मनोरञ्जनात्मक गतिविधि गर्न सक्नेछन् ।
यसका साथै, निम्न लक्ष्यका साथ नेपाली भिलेज निर्माण गर्न लागिएको हो ।
- इच्छुक व्यक्तिहरूलाई सेयर स्वामित्व खरिद गरी यस अद्वितीय र ऐतिहासिक परियोजनाको हिस्सा बन्ने अवसर प्रदान गर्न ।
- नेपालको पहाडी र हरियाली परिदृश्यसँग मिल्दोजुल्दो साइट किन्न (१९३ रोपनी जग्गा सन् २०२३ सालमा खरिद गरिसकिएको छ ।)
- स्थानीय, क्षेत्रीय र राष्ट्रियस्तरमा समुदायहरूसँग सहकार्य गर्दै विकास र समृद्धिका लागि अघि बढ्न ।
- मनोरञ्जन र शैक्षिक केन्द्र निर्माण गर्न ।
- भावी पुस्ताका लागि स्थानीय र नेपाली इतिहास, संस्कृति र परम्पराको संरक्षण र प्रवर्धन गर्न ।
- रोजगारीको अवसर प्रदान गर्न ।
- वातावरणीय र पर्यावरणमैत्री गतिविधिहरू सञ्चालन गर्न ।
- जैविक विविधताको संरक्षण र प्रवर्धन गर्न ।
- वेल्स र नेपालको पर्यटन प्रवर्धन गर्न ।
यो परियोजनाको पहिलो चरण झन्डै पूरा भइसकेको छ । आवश्यक रकम जम्मा गरी जग्गा खरिद भइसकेको छ । स्थानीय प्लानिङको स्वीकृति नचाहिने मर्मत कार्य साथै प्लानिङ तयारी गरी स्थानीय निकायमा पेस गर्ने कार्य पूरा भइसकेको छ । प्लानिङ अनुमति हासिलपछि दोस्रो चरणमा नयाँ प्रवेशद्वार, कार पार्क, ठूलो चौतारी, पोखरी, ऐतिहासिक ढुंगेधाराहरू, नेपाली र वेल्सशैलीको छुट्टी मनाउने घर, प्रदर्शनी हल (नेपाली र वेल्स संस्कृति र कलाकृतिहरू प्रदर्शन गर्न), कार्यालय, क्याफे र जैविक फार्म निर्माण गरिनेछ ।
साथै यस चरणमा हामीले खरिद गरिसकेको १ सय ९३ रोपनी जग्गामा पैदलयात्रा गर्ने सुविधासहित नेपाल र वेल्सका प्रमुख स्मारकहरू र मठ मन्दिरहरूको रिप्लिका (प्रतिकृति)हरू निर्माण गरी एउटा आकर्षक केन्द्र स्थापना गरिनेछ । तेस्रो चरणमा स्थानीय निकाय (प्लानिङ) को सहमतिमा होटल, विवाहलगायतका सभा समारोह स्थल, तालिम तथा सेमिनार हल, ध्यान केन्द्रजस्ता संरचना निर्माण गर्ने भनिएपनि स्थानीय प्लानिङ अनुमति दिने निकायले हाल यो क्षेत्रमा नितान्त नयाँ र ठूला संरचना निर्माण गर्ने अनुमति दिन निकै संवेदनशीलताका साथ सजगता अपनाएको महसुस गरिएको छ ।
स्थापनादेखि नै नेपाली भिलेज परियोजनामा सबैले अपनत्व पाउनुपर्छ भन्ने सोचका साथ हामीले सेयर सदस्यका रूपमा जोडिने अवसर पनि प्रदान गरिरहेका छौं । हामीले हाम्रो परियोजना निर्माण अनुमतिका लागि स्थानीय निकायमा योजना स्वीकृतिका लागि पेस गरिसकेका छौं र निकट भविष्यमै स्वीकृति पाएपछि परियोजनाको दोस्रो चरणका योजनाहरू निर्माण सुरु गर्ने तयारीमा छौं । यसै क्रममा संयोगवश नेपाली भिलेज यूकेको परिसरको नजिकै बिक्री रहेको २२ कोठे भवन जुन हाल व्यावसायिक हिसाबले ध्यान र योग सञ्चालन भइरहेको बुद्धिष्ट ध्यान केन्द्र हाम्रो परियोजनाको तेस्रो चरणको लक्ष्य प्राप्तिका लागि अति उपयुक्त हुने महसुस गरी गत साधारणसभाले यसलाई खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यस परियोजनाका सम्पूर्ण कार्य सम्पन्न गर्न थप रकम आवश्यक भएकोले ३ सय जनालाई यस परियोजनामा सेयर लिने मौका दिइनेछ ।
'संस्कृतिको संरक्षण, एकताको प्रवर्द्धन'
धन्यवाद ।
अन्य जानकारीका लागि सम्पर्क
- मेजर खुशीमान गुरूङ एमभीओ – अध्यक्ष तथा प्रबन्ध निर्देशक
फोनः ००४४७९८०८६६००१
- श्री मानप्रसाद गुरूङ – उपाध्यक्ष, फोन ः ००४४७३६५५२२८६३
- श्री लोकेन्द्रराज श्रेष्ठ – कोषाध्यक्ष, फोन ००४४७८७१५५६७७३
- श्री टीकाराम गुरूङ – सचिव, फोन ००४४७८८६५७५०१९
- श्री वीरविक्रम भट्टराई – प्रवक्ता, फोन ००४४७९१५०४६२०३
परियोजना निर्देशक तथा व्यवस्थापन समिति
- मे. खुशीमान गुरूङ एमभीओ– प्रबन्ध निर्देशक
- श्री मानप्रसाद गुरूङ – इभेन्ट
- श्री लोकेन्द्रराज श्रेष्ठ – फाइनान्स
- श्री टीकाराम गुरूङ – सचिव
- क्या. सूर्यप्रकाश गुरूङ – अपरेसन
- श्री कोलिन प्रिस – प्लानिङ
- श्रीमती जशु गुरूङ मशेंस – मार्केटिङ
- श्री वीरविक्रम भट्टराई – प्रवक्ता
- श्री शेरबहादुर गुरूङ
- मे. सोभितबहादुर हमाल ठकुरी एमभीओ
- श्रीमती मधु गुरूङ
- श्री नन्दबहादुर बयाम्बू मगर
- श्री गंगाप्रसाद गुरूङ
- श्री डम्बरबहादुर सुनुवार
- अधिवक्ता बालकृष्ण गुरूङ – कानुनी सल्लाहकार